आइफा अवाड का लागि सरकारले पैसा दिने निर्णय गरेको छैनः सञ्चारमन्त्री बास्कोटा

१७ असार, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इण्टरनेशनल इण्डियन फिल्म अवार्ड (आइफा) का लागि सरकारले कुनै पैसा दिने निर्णय नगरेको जानकारी दिनुभएको छ ।

विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा विज्ञापनसम्बन्धी एकीकृत रुपमा व्यवस्था भएको विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा उहाले यस्तो जानकारी दिनुभएको हो । यसअघि विभिन्न देशमा भइसकेको कार्यक्रम नेपालमा गर्न स्थान, सुरक्षालगायत सहयोग सरकारले गर्न लागेको उहाँले बताउनुभयो । कार्यक्रम हुँदा सन् २०२० का लागि घोषित नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने मन्त्री बाँस्कोटाले स्पष्ट गर्नुभयो । उहाँले ‘क्लिन फिड’ का साथै ‘होर्डिङ बोर्ड’ का माध्यमबाट हुने अवाञ्छित प्रचारलाई विधेयकमार्फत रोक्न खोजिएको जानकारी दिनुभयो । अन्तरनिर्भर विश्वमा बहुराष्ट्रिय कम्पनीका मालवस्तुको विज्ञापन गर्दा नेपाली कलाकार, प्रकृति र आमसञ्चार माध्यमको प्रयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

लोकहित र प्राकृतिक प्रकोपका बेलामा त्यससम्बन्धी निःशुल्क विज्ञापन गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ । विज्ञापन व्यवस्थित गर्ने निकायका रुपमा बोर्ड गठन गर्ने प्रस्ताव विधेयकमा गरिएको छ ।

बैठकमा सांसदहरुले आइफाको कार्यक्रम गर्न किन सरकारले अनुमति दिएको भनी प्रश्न गरेका थिए ।

Facebook Comments

Related posts