संविधान दिवसमा नयाँ पुस्तामा जागरण पैदा गर्न घरघरमा फहराइने राष्ट्रिय झण्डा

राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न आसन्न संविधान दिवस तथा राष्ट्रिय दिवसमा घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ ।

दिवसको मूल समारोह समितिअन्तर्गत गठित प्रचारप्रसार उपसमितिको बुधबारको बैठकमा राष्ट्रिय झण्डा र राष्ट्रियतालाई केन्द्रमा राखी संविधानको महत्व झल्काइने जानकारी दिइएको हो । सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्दे्शिका समेत परिवर्तन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा गठित उपसमितिले संविधानबारे विशेष सामग्री प्रकाशन, प्रसारण गर्न सबै सञ्चारमाध्यमलाई आग्रह पनि गरेकोे छ ।

विसं २०७२ असोज ३ गते संविधानसभाबाट निर्मित नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाइन्छ । मन्त्री बाँस्कोटाले २०६२÷०६३ मा जन्मेका नयाँ पुस्ताले पनि संविधानबारे बोध गर्ने गरी आकर्षक प्रचारप्रसार हुनुपर्ने भएकाले यसका लागि नवीन सुझाव ग्रहण गरिने बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले कतिपय अवस्थामा अराजकता पनि देखिएको भन्दै अधिकारको उन्मादमा कर्तव्यको शून्यता देखिएको बताउनुभयो ।

दिवसलाई औपचारिक नबनाई जनजनमा संविधानबारे चेतना फैलाउनुपर्ने, प्रचार सामग्री तयार गर्ने, संविधानसँगका जल्दोबल्दो विषय पहिचान गर्नुपर्ने, व्यवसायीले सामानहरुमा विशेष छुट दिने, निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, विद्यालय तहमा संविधानबारे प्रचार गर्ने आदि सुझाव बैठकमा दिइएको छ । दिवसको मूल नारा ‘संविधान तथा राष्ट्रिय दिवस हर्षाेल्लासपूर्वक मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने तय भएको छ । मूल समारोह समितिले यस वर्ष असोज २ गतेदेखि त्रिदिवसीय मुख्य कार्यक्रम तय गरेको छ, जसमा असोज २ गतेदेखि ४ गतेसम्म साँझ दीपावली गर्नेलगायत छन् ।

Facebook Comments

Related posts