स्कुल विभाग प्रमुखको जिम्मेवारी पोखरेललाई दिने नेकपाको निणर्य

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको नेकपा सचिवालय बैठकले पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाउदै स्कुल बिभागको जिम्मेवारी पोखरेललाई दिने निर्णय गरेको हो । स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी थियो । पूर्वएमालेले पोखरेल र पूर्वमाओवादीले श्रेष्ठको नाममा अडान लिएपछि स्कुल विभाग प्रतिष्ठाको विषय बनेको थियो ।

यस्तै नेकपाले संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमलाई दिएको छ । विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल र उपप्रमुख राम कार्की, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल, प्रचारमा नारायणकाजी श्रेष्ठ र अर्थ योजना विभागको प्रमुखमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ । बैठकले सातै वटा प्रदेशमा सहइन्चार्ज चयन गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । त्यस्तै बिभिन्न आयोग, सम्पर्क समन्वय कमिटी , बिशेष प्रदेश कमिटि तथा प्रवास कमिटिको निर्णय गर्न बाँकी रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै नेकपा सचिवालय बैठकले नेता वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने प्रस्ताव गरेको छ । वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय नेकपाको स्थायी समितिले पारित गर्नु पर्नेछ । अहिले नेकपामा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष र विष्णु पौडेल महासचिव हुनुहुन्छ ।
नेकपा बैठकले अन्य पदाधिकारीसमेत सिफारिस गरेको बुझिएको छ ।

Facebook Comments

Related posts